चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ ।

कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् ।कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।
उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । क्वारेन्टाइनमा रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारेन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘हामीलाई राखिएको ठाउँका आठवटा बिल्डिङमा फरकफरक कम्पनीमा काम गर्ने नेपाली छन् । यहाँका दुईवटा बिल्डिङमा बस्ने दुई जनालाई कोरोना संक्रमण देखिएपछि सबैलाई क्वारेन्टाइनमा राखिएको हो,’ क्वारेन्टाइनमा बसेका धनुषाका एक नेपालीले कान्तिपुरसँग भने, ‘हाम्रो स्वास्थ्य जाँच गर्न हमाद अस्पतालबाट डाक्टर आए, सबै जाँच गरेर गए । रिपोर्ट आइसकेको छैन ।’


क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरू पनि छन् । त्यसमा धेरैजसो सेल्सम्यानको काम गर्नेहरू छन् । ‘खाना हमाद अस्पतालबाटै आउँछ । कुनै समस्या छैन,’ उनले भने, ‘सुरुसुरुमा डर लागेको थियो । अब सामान्य लाग्न थालेको छ ।’ त्यही परिसरभित्र रहेका अर्घाखाँचीका एक नेपालीले सुरक्षा व्यवस्था निकै कडा रहेको बताए ।


‘बाहिर गेटमा कतारी सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । गेटबाट बाहिर निस्कन दिइएको छैन । कम्पनीका मान्छेलाई पनि भित्र आउन दिइएको छैन । कम्पनीले कुनै कुराको कमी हुन दिएको छैन । साथीहरूको घरमा पैसा पठाउनु परेमा आफैंले पठाइदिएको छ,’ उनले भने, ‘यो निगरानीलाई हामीले सकारात्मक रूपमा लिएका छौं ।’


सनैयाकै अर्को क्याम्पमा रहेका झन्डै तीन हजार कामदारलाई बाहिर निस्कन दिइएको छैन । उनीहरूले किनमेल गर्ने बजारमा संक्रमित भएको कामदार भेटिएपछि सबै कामदारलाई स्वास्थ्य परीक्षण गर्न लागिएको हो । ‘हामी जहाँ किनमेल गर्न जान्थ्यौं, त्यहाँ कोरोना भाइरस लागेको एकजना भेटिएछ । त्यो हाम्रो क्याम्पभित्र बस्ने हो कि होइन थाहा भएन । हामी पनि त्यहाँ गएको हुन सक्ने भन्दै हामीलाई काम गर्न र बाहिर जान नदिएको हो,’ एक नेपालीले भने, ‘बाहिर ननिस्केको तीन दिन भयो । हामी आफैंले कोठामा खाना बनाएर खाइरहेका छौं । खानाको अभाव छैन । खानेकुरा हाम्रो क्याम्पभित्रैको पसलमै किन्न पाइन्छ । हाम्रो क्याम्प बोसले छिट्टै स्वास्थ्य जाँचका लागि टोली आउँछ भनेको छ ।’


सनैया क्षेत्रमा मात्रै कम्तीमा चार लाखभन्दा बढी आप्रवासी कामदार बस्छन् । जसमा झन्डै ३० प्रतिशत नेपाली छन् । शुक्रबार बिदाको दिन भए पनि कतारी प्रहरीले कसैलाई क्याम्पबाट बाहिर निस्कन दिएको थिएन । ‘क्याम्पभित्र रहेको गाडीबाट सिधा काम गर्ने साइडमा जाने हो । साइडबाट सिधा क्याम्पभित्रै आउने हो । दायाँबायाँ गर्न दिइएको छैन । कोही साथी क्याम्पबाट बाहिर निस्केर हिँडेमा पक्राउ परेका छन्,’ सिरहाका जयसिंह मण्डलले भने, ‘कतिपय साथी परिस्थिति नै बुझ्दैनन् ।’


कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ सय ३७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा राखिएका कामदारहरूमै संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । संक्रमण देखिएकामध्ये चार जना उपचार सफल भएर क्याम्पमा फर्केका छन् । उनीहरू जोर्डनी, फिलिपिनो, इरानी र सुडानी नागरिक हुन् । हालसम्म नेपालीको विषयमा केही सार्वजनिक भएको छैन ।


सार्वजनिक स्वास्थ्य विभागका निर्देशक डा. मोहम्मिद विन हमाद अल थानीले कतारी नागरिक र आप्रवासीबीचको स्वास्थ्य उपचारमा कुनै विभेद नभएको बताएका छन् । उनले भाइरसको संक्रमण धेरैजसो कामदारमा देखिएको बताए । ‘भाइरसको संक्रमणलाई निस्तेज पार्न प्रत्येक निकायले सहकार्य गरिरहेका छन्,’ उनले भने ।
'कान्तिपुर न्युज बाट'

Comments

Popular posts from this blog

What is a marriage